Logo
Logo

मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो


882
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएको छ । एमालेबाट अलग भएका माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् ।

यी दुईसहित दलको संख्या ९७ पुगेको छ । एकीकृत समाजवादी चौथो र लोकतान्त्रिक छैटौं पार्टी बनेका छन्  । आयोगले नेपाल र ठाकुरको पार्टीलाई मान्यता दिएसँगै सत्ता गठबन्धनको बहुमत पुगेको छ । प्रतिनिधिसभामा एमाले ९८ सांसदमा खुम्चिएको छ ।

सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १५२ सांसद पुगेका छन्  । एकीकृत समाजवादीले तत्कालै सरकारमा सहभागी हुने जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेशअनुसार दुवै पार्टीलाई दर्ता गर्ने निर्णय भएको आयोगका सचिव सुरेश अधिकारीले बताए । आयोगले नेपालको पार्टीको दर्ता नम्बर १६६ र ठाकुरको पार्टीको दर्ता नम्बर १६७ कायम गरिदिएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएमा दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । २ सय ३ केन्द्रीय सदस्यमध्ये ५५ जना एमाले छाडेर नयाँ दलमा समावेश भएका छन् ।

एमालेबाट छुट्टिएका २० प्रतिशत केन्द्रीय सदस्यको आधारमा एकीकृत समाजवादी दर्ता भएको आयोगले जनाएको छ । एकीकृत समाजवादीले सांसद भने २० प्रतिशत पुर्‍याउन सकेन ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्