Logo
Logo

म्याग्दीमा रायखोरको पहिरोले राहुघाट नदी थुनियो


567
Shares

म्याग्दी । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए ।

“करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ”, उनले भने । “निरन्तर पहिरो खसिरहेको छ ।” राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ‘ओभरफ्लो’ हुन थाले पनि जोखिम कायमै रहेको मगरले बताए ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए । राहुघाटको तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन छन् ।

बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरीक्षणका लागि पठाइएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्