काठमाडौं । आगामी चैत महीनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन ।
आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, ‘अहिले हेडवर्क १०र१५ मीटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।’ चैतमा काठमाडौंमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले बताएको छ । हेडवर्कमा कति क्षति भएको छ, त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ ।
अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए । ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ । त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको सूचना अधिकारी पन्तले बताए ।
उनले भने, ‘साँघुरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसैले समय लाग्न सक्ने देखिएको छ ।’
हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ ।
बाढीका कारण सबैभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ । अहिले सडक रहेकै स्थानमा पुनर्निर्माण गर्ने कि नयाँ रेखांकनमा गर्ने भनी छलफल भइरहेको जानकारी सूचना अधिकारी पन्तले दिए । सडक र पुलको विज्ञ जनशक्ति सडक विभागसँग भएकाले ऊसँगको सहकार्यमा यसमा निर्णय लिइने सूचना अधिकारीको भनाइ छ । अहिले भएको सडकको विकल्पमा अर्को ठाउँबाट वैकल्पिक सडक खुलाउने काम दीर्घकालीन रूपमा गरिनुपर्ने भए पनि तत्कालका लागि भइरहेको सडकमा स्तरोन्नति अघि बढाइएको उनले जानकारी दिए । अहिले डोजरमात्रै लैजान सकिने बाटो बनाउने प्रयास भइरहेको छ । ‘यहाँका सडकको स्तरोन्नति र मोड फराकिलो बनाउने काय भइरहेको छ,’ उनले भने, ‘हेलम्बु गाउँपालिकाले सडक खुलाउने काम पनि भइरहेकोे छ ।’
सडकमा कति क्षति पुग्यो र मर्मतका लागि कति समय लाग्छ भनी विस्तृत रूपमा मूल्यांकन गरिनेछ । सडक पहिलेको रेखांकनभन्दा माथिबाट लैजाँदा सुरक्षित हुनसक्ने उनको भनाइ थियो । ‘भविष्यमा पुग्न सक्ने क्षतिको आकलन गरेर पुलहरू नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ,’ उनको भने, ‘त्यसले गर्दा पहिले भएको क्षतिभन्दा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको छ ।’
आयोजनामा हालसम्म रू। २ अर्ब क्षति भएको अनुमान गरिएको छ । मर्मत र पुनर्निर्माण गर्दा त्यो रकम बढ्नसक्ने सूचना अधिकारी पन्तको अनुमान छ । हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उनको भनाइ छ ।
आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका मर्मतको योजना बनाइएको छ । दीर्घकालीन मर्मत शुरू गर्नुपहिले आयोजनास्थलभन्दा माथिल्लो भागमा पहिरोको समाधान गरिनुपर्छ भन्ने छलफल भइरहेको छ । सम्बद्ध निकायले त्यसमा विस्तृत अध्ययन गर्नुपर्नेमा उनको जोड छ । अध्ययन सकिएर निष्कर्षका आधारमा अरू पूूर्वाधारको डिजाइन गर्ने, पुनरवलोकन गर्ने, स्थानान्तरण वा नयाँ बनाउने के गर्न सकिन्छ भनी निर्णय लिइने भएको छ । उनले भने, ‘माथिल्लो भागमा पहिरोको रोकथाम नियन्त्रणका लागि एकीकृत कार्यक्रम बनाएर जानुपर्छ ।’
अल्पकालीन रूपमा आयोजनाबाट पानी ल्याउन वैकल्पिक पथान्तरण सफा गर्ने, अम्बाथान अडिट सफा गर्ने योजना बनाइएको छ । हालका लागि सानो एउटा वैकल्पिक ड्याम बनाएर पानी ल्याउन लागिएको छ । अल्पकालीन कार्ययोजनामा चुनौती भनेको नदीको स्तर पुरानै स्तरमा बनाउनु रहेको छ । उनले भने, ‘त्यसमा अलि बढी समय लाग्नसक्छ ।’ रासस