Logo
Logo

कालोपत्र भएको सडक एक वर्षमै जीर्ण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, ६ वैशाख (रासस) ः सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ ।

तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउनुहुन्छ । निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्ने गरेकाले कमजोर सडक निर्माण भएको हो । तीन किमीको यो सडकको दर्जनभन्दा बढी स्थानमा खाल्डाखुल्डी परेको छ ।

कतिपय स्थानमा भने स्थानीयवासीले खानेपानीको पाइप लैजाँदा खनेको खाल्डो नपुरिँदा त्यहीँबाट सडक जीर्ण बन्न थालेको छ । सडक सम्पन्न भएको एक वर्षभित्र बिग्रिए निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ ।

सडक डिभिजन कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पानीको पाइप बिच्छ्याउन अनुमति दिए पनि सडक बनाउन नलगाएको कुमारीगाल टोल सुधार समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनुभयो ।

गत वर्ष वर्षाद्मा यो सडक विस्तार सम्पन्न भएको थियो । सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कैलाशकुमार श्रेष्ठ निर्माण भएको एक वर्ष अगावै सडक जीर्ण भए निर्माण व्यवसायीलाई मर्मत गराउने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्