काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्ला तथा प्रदेश ट्राफिक कार्यालयका प्रमुखका रुपका कार्यरत एसपीहरुको सरुवाको तयारी थालेको छ । एक वर्ष अवधि पुगेका जिल्लाका एसपीहरुको सरुवा हुन लागेको हो ।
एसपीको सरुवा हुने जिल्लाहरुमा सर्लाही, सप्तरी, पाल्पा, स्याङजा, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी र नुवाकोट छन् ।
सर्लाहीमा सन्तोषसिंह राठौर, सप्तरीमा राजेन्द्र धमला, पाल्पामा सन्तोष भट्टराई, स्याङजामा होबिन्द्र बोगटी, सिन्धुपाल्चोकमा राजन अधिकारी, पूर्वी नवलपरासीमा प्रकाश मल्ल र नुवाकोटमा तुलबहादुर कार्की कार्यरत छन् । रौतहटका एसपी सिद्धिबिक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाएको घटनामा मुछिएकाले उनलाई पनि हटाउने सम्भावना प्रबल छ ।
जिल्ला जान चाहने एसपीहरु कांग्रेस नेताहरुमार्फत गृहमन्त्रीको पावर लगाउन दौडधुपमा छन् । आफुलाई खास कांग्रेस भन्ने एसपी आभूषण तिमल्सिना पनि दौडधुपमा छन् ।
यसअघि विराटनगर जाँदा कांग्रेस अब देशबाट बढारियो भन्दै मोरङका कांग्रेसका नेतालाई खिल्ली उडाएका तिमिल्सिना अहिले तिनै कांग्रेस नेताहरु समातेर आकर्षण जिल्लामा जाने दौडमा लागेका छन् । एसपीमा दुई जिल्लाको कमाण्ड पाइसकेका उनी दुवै जिल्लामा काण्ड लागेर तानिएका थिए ।