काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको मिति नजिकिँदै जाँदा त्यसको तयारीलाई तीव्रता दिएको छ । आसन्न १४औँ महाधिवेनका लागि कांग्रेसले निर्वाचन अधिकृत खटाउन सुरु गरेको हो ।
आगामी १८ भदौमा वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले को ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ । निर्वाचन अधिकृतहरू शुक्रबारदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जाने भएका छन् ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताएका छन् । कांग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई जिम्मेवारी दिइएको छ ।
साथै, कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको सूची समेत सार्वजनिक गरेको छ । उक्त सूचि पार्टीको वेबसाइटमा हेर्न सकिने बताइएको छ । यादवका अनुसार बाँकी ३९ जिल्लाको क्रियाशील सूची पनि छिट्टै सार्वजनिक गरिने भएको छ ।
कांग्रेसले प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर र झापाको क्रियाशील सूची प्रकाशित गरेको छ भने बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाको क्रियाशील विवरण वेबसाइटमा राखिएको छ ।
गण्डकी प्रदेशका गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी र नवलपुरको क्रियाशील सार्वजनिक भएको छ । लुम्बिनीमा रूपन्देही, पाल्पा र रोल्पाको विवरण सार्वजनिक गरिएको छ भने कर्णालीमा हुम्लाको मात्रै क्रियाशील विवरण वेबसाइटमा राखिएको छ ।
प्रदेश नम्बर २ र ७ मा भने कुनै पनि जिल्लाको क्रियाशील विवरण अहिलेसम्म सार्वजनिक गरिएका छैनन् । कांग्रेसले १४औं महाधिवेशनका लागि यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य बनाएको छ जसमध्ये करिब ५० हजार विदेशस्थित जनसम्पर्क समितिका छन् ।