काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा अहिलेसम्म निर्णय नभएको बताएका छन् ।
पार्टी कार्यालय बबरमहलमा पार्टीको झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारमा जाने विषयमा तत्काल कुनै पनि छलफल नभएको प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘सरकारको विषयमा अहिले हाम्रो कुनै कुराकानी भएको छैन, आफूहरूको माग सम्बोधनको सन्दर्भमा कुरा नभइ सरकारमा जाने कुरा हुँदैन ।’
अध्यक्ष ठाकुरले संविधान संशोधन, नागरिकता, मधेश आन्दोलनका संलग्नलाई जेलमुक्त गर्ने विषयमा अझै सक्रिय भएर लाग्ने बताए । उत्पीडित, महिला, जनजाति, आदीवासीको विषयलमाई आफूहरूले उठाउने बताउँदै उनले समानताका आधारमा राजकाजमा समावेश हुनुपर्नेमा जोड दिए ।
निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उनले अहिले नै गठबन्धन बनाएर जाने विषयमा समेत नसोचिएको बताए ।