काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
आज (शुक्रबार) बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।
एकीककृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा.बेदुराम भुषाल र प्रमेश हमाल रहेको स्थायी कमिटीको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
बुधबार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दर्ता गर्दै नयाँ दलको मान्यता दिएको थियो । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय नभएकाले मन्त्रीपरिषद बिस्तारमा ढिलाई हुदै आएको बताउँदै आएका छन् ।
पाँच दलिय गठबन्धन भित्र काँग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)ले ६/६ मन्त्रालय लिने सहमती यस अघि नै भइसकेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ दिल्लीमा उपचार गराई रहेका नेता खनाल स्वदेश फिर्ता भएपछि उनको समेत सहमतीमा मन्त्रीको नामावली टुंगो लगाउने स्रोतको दावी छ ।