काठमाडौं । मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ मा मागभन्दा बढी आवेदन गरेको छ । प्रतिइकाइ १० रुपैयाँ तोकिएको १० करोड इकाइमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक मेगा बैंकका लागि सुरक्षित राखी सर्वसाधारणलाई बिक्री खुला गरिएको ८ करोड ५० लाख इकाइमा आवश्यकताभन्दा बढी आवेदन परेको हो ।
सार्वजनिक निष्कासन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन प्राप्त भई चौथो दिनसम्ममा माग गरिएको आवेदन रकमभन्दा २ दशमलव ३७ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।
नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फन्डमा सबैभन्दा धेरै आवेदन मेगा म्युचुअल फन्ड–१ मा प्राप्त भएको क्यापिटलको दाबी छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडप्रति प्राप्त भएको यस विश्वासका कारण अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको कम्पनीले जनाएको छ ।
मागभन्दा धेरै बढी इकाइका लागि आवेदन परेकाले धितोपत्र बोर्डले जारी निर्देशिकाबमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाइहरू बाँडफाँड गरिने जनाइएको छ ।