काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नै सबैभन्दा ठूलो पार्टी भएको बताउँदै कसैले लड्न नसक्ने बताएका छन् । शनिबार काठमाडौ.मा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माधवकुमार नेपालले पार्टी फुटाएर गएप्रति टिप्पणी गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘एक एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ उनले नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी नभएको बताउँदै भने, ‘यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ ।’
अध्यक्ष ओलीले महासागरजत्रो पार्टीमा पौडिन ठाउँ नपाएको भन्दै पार्टी फुटाएर पौडी खेल्न खाल्डो खनेको टिप्पणी गरे । उनले माधव नेपाललाई ‘कुलङ्गार नेता’को संज्ञा दिँदै भने, ‘कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’
माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको टिप्पणी गर्दै ओलीले भने, ‘त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक पर्दैन ।’ एक दुईवटा पात खस्दैमा रुख पीर मानेर नबस्ने भन्दै उनले भने, ‘अब अर्को टुसो आउँछ ।’