Logo
Logo

महाधिवेशनमा जुट्यो काँग्रेस


252
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अब १४औँ महाधिवेशनमा केन्द्रित हुने भएका छन् । पार्टीको क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकालगायतका विषयमा सहमति भई शनिबारै जिल्ला सभापतिको अनशन टुङ्गो लागेपछि पार्टी अब सम्पूर्ण रूपमा महाधिवेशनमा होमिने अवस्था सिर्जना भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यस विषयमा सहमति भएपछि चार दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिलेअनशनसमेत तोडिएको छ ।

शीर्षनेताबीच सहमतिपछि शनिबार साँझ जिल्ला सभापतिले अनशन तोडेको र पार्टी अब पूर्ण रूपमा महाधिवेशनमा जुट्ने अवस्था बनेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिनुभयो । आफूहरूको माग पूरा भएकाले अनशन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक पार्टी कार्यालय सानेपा पुग्नुभएको थियो ।

५३ जिल्लाको सूची सार्वजनिक
काँग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई÷तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी काँग्रेसले दिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विवादको छिनोफानो गर्दै सदस्यताको सूची सार्वजनिक गरिने जानकारी दिनुभयो । यसक्रममा शनिबार क्रियाशील सदस्यताको विवादको छिनोफानो भएका थप पाँच जिल्लाको सूचीलाई काँग्रेसले वेबसाइटमा अद्यावधिक गरेको छ । नुवाकोट, चितवन, धादिङ, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । ती जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्