Logo
Logo

सरकारको शासनविरुद्ध जाग्नुपर्ने बेला आएको छ : देउवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ५ ले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताए । ‘सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ, उनले भने । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो ।
पार्टीभित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारबाही गरिनेमा जोड दिँदै उनले घरघर गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
यस्तै, पार्टीका महामन्त्री डा शशांक कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए । ‘पार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म कांग्रेस पहिलो पार्टी बन्न सक्दैन, उनले भने । उनले भने, ‘वर्तमान सरकार संघीयतामा विश्वास गर्दैन, विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपथ्र्यो ।’
सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए । कांग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उनको भनाइ थियो ।
त्यस्तै, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई सामूहिक भावनाका साथ अगाडि बढाउनुपर्ने अवस्था आएको बताए । राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले कांग्रेसले संसद्भित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नाका साथै संसद्मार्फत् सरकारले गरेका गलत क्रियाकलापको खबरदारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्