काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दुई अंकको भारी गिरावट आएको छ । आइतबार ४९ दशमलव १८ अंकको उच्च गिरावट हुँदा ३ हजार ४४ दशमलव ८८ अंकमा बन्द भएको हो ।
आइतबरा प्रि ओपन सेसनमा दोहोरो अंकले बढेर ३ हजार १ सय ५ दशमलव ७९ अंकमा खुलेको नेप्से सुरुवातमा केही उतार–चढाव हुँदा ३ हजार १ सय १६ दशमलव ८२ अंकसम्म पुगेको थियो । त्यसपछि लगातार घटेर ३ हजार ३८ दशमलव ७८ अंकसम्म घटे पनि अन्तिममा पुनः केही उतार–चढाव देखिँदा न्यून विन्दुभन्दा केही माथि पुगेर बन्द भयो ।
आइतबार २ सय २७ कम्पनीको १ लाख ५९ हजार १३७ पटकको कारोबारमा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
नेप्सेमा वित्त कमपनीबाहेक सबै उपसूचकमा गिरावट भएको छ । उपसूचकमा गिरावट भए पनि हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिँदा कारोबार रकम उच्च देखिएको छ ।
घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने जानकी फाइनान्स, सिभिल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।