कोलम्बो, ८ बैशाख (एएफपी) । श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृंखलाबद्ध बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौँ व्यक्ति घाइते भएका छन् ।
पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।
चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।
सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा चर्चको छाना ध्वस्त भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । तर यी तस्वीरको प्रामाणिकता पुष्टी हुन बाँकी छ । बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । यो समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन ।