काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन् ।
बैठक सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रित रहेको बताइएको छ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने बैठकमा मन्त्रालय भागवण्डाबारे छलफल नभएको बताए ।
एक नेताका अनुसार मन्त्रालय भागबण्डाबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुनेछ । जारी बैठकमा गठबन्धनको स्थायी स्वरूप निर्माण तथा सरकारलाई पूर्णता दिनेबारेमा पनि छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता बैठकमा सहभागी छन् ।
बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का सहभागी छन् । माओवदीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल र जसपा अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई पनि बैठकमा सहभागी छन् भने बैठकमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललगायत छन् ।