Logo
Logo

दार्चुलामा बाढीको वितण्डा, एकको मृत्यु, दुई वेपत्ता

बाढीले पक्की पुल र दर्जनाैँ घर बगायो


हिक्मत बम

630
Shares

धनगढी । लगातारको अविरल वर्षाले दार्चुलाको निजाङ खोलामा आएको बाढीले दार्चुला-तिंकर सडकखण्डको पक्की पुल भत्काएको छ भने पिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ ।

महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सीमा भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप तीन पसल र एक घर बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

जिल्ला प्रहरीका अनुसार खोलाले स्थानीय दीपकबहादुर बमको घर, सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको हो । त्यस्तै, गएराति पहिरो खस्दा दुँहू गाउँपालिका–१ बासपालीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथिबाट खसेको पहिरोमा पुरिएर बासपालीका ६५ वर्षीय नरसिंह महरको मृत्यु भएको तथा उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता रहेको स्थानीय रामसिंह महरले जानकारी दिए ।

यस्तै, दुहुँ गाउँपालिका–५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षीय मनुवा डडाल बेपत्ता भएको सोमनाथ आधारभुत विद्यालयका शिक्षक मानसिंह डडालले जानकारी दिए । बेपत्ता डडालको खोजी भइरहेको जनाइएको छ । बाढी तथा पहिरोले दुहुँ गाउँपालिकाका आधा दर्जन घर जोखिम रहेका छन् । बाढीले २ लघुजलविद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसीसी पुल बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्