अर्घाखाँची । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाबाटै कोरोना भाइरस (कोभिड)विरुद्धको खोपको दुरुपयोग बढेको छ ।
शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नमनारायण बेल्बासेले आफूखुसी खोप लगाउन निर्देशन दिने गरेका छन् । शितगंगा नगरपालिकामा पहिलो डोज लगाएर लामो समयसम्म दोस्रो नपाएकाहरूलाई समेत खोपको व्यवस्थापनमा ढिलाइ गरिएको थियो ।
शितगंगा नगरपालिका ४ का नारायणसिंह बेल्बासेले पहिलो खोप पहिलो चरणमै लगाएका थिए । तर, उनीसँग लगाएका अन्यले दोस्रो डोज लगाइसक्दा नारायणसिंहले भने दोस्रो डोज पाएका छैनन् ।
खोप आएको बेला अस्पतालमा पुग्दा लक्षित समूहभन्दा बाहिरका धेरैलाई बोलाउँदै खोप लगाइदिए पनि आफूलाई नलगाइदिएको उनको गुनासो छ ।
पटक–पटक गर्दा पनि दोस्रो डोज खोप नपाएपछि नारायणसिंहले तौलिहवा पुगेर लगाएको बताए । यस्तै शितगंगा नगरपालिका २ का विकास घिमिरेले मासु पलाएको अप्रेशन गर्न खोप अनिवार्य भएपछि पटक–पटक धाउँदा पनि खोप पाएनन् । तर, स्वास्थ्य शाखाका कर्मचारीले नगर बाहिरबाटसमेत आफ्ना मान्छे बोलाएर खोप लगाउने गरेको आरोप छ ।
शितगंगा नगरपालिकाका जनस्वास्थ्य अधिकृत नमनारायण बेल्बासेले रुपन्देही नयाँ गाउँनिवासी केही व्यक्तिलाई स्वास्थ कार्यालयमै बोलाएर खोप लगाइदिएका हुन् । खोप लगाउनका रुपन्देहीबाट गाडी रिर्जभ गरेर आएका थिए ।
चिकित्सकको सिफरिसमा आफूहरु खोप लगाउन आएको रुपन्देहीबाट आएका एकजनाले बताए । उनीहरुमध्ये एकजना केही दिनमै विदेश जानको लागि खोप लगाउन आएको बताए । तर, उनीहरुको साथमा न भिसा थियो न त कुनै कागजात नै । तर, उनीहरुलाई खोप लगाउँदा दर्तासमेत नगर्न स्वास्थ्य शाखाका प्रमुख बेल्बासेले निर्देशन दिएका अस्पतालका स्वास्थकर्मीले बताए ।
खोप लगाएर फर्किएकाको विवरण माग्दा अस्पतालले उनीहरुको कुनै विवरण नराखेको पाइएको हो । खोप लगाउने व्यक्तिको नामसहितको विवरण राख्नुपर्ने हुन्छ । तर, त्यस्तो देखिएन । पालिकाभित्रकालाई खोप नदिएर बाहिरकालाई बोलाएर लगाइदिएका कारण विवरण नराखिएको हो ।
तर, केही दिनअघि शितगंगा ४ जोगिनिकोटका बसन्त सुनारले राहदानी बोकेर दिनभर बस्दा पनि त्यहाँबाट खोप पाएनन् । आफ्नै नगरवासीलाई खोप नदिएका पालिकाले बाहिरका व्यक्तिलाई बोलाएर खोप लगाइदिएको हो ।
शितगंगा नगरपालिकामा अहिलेसम्म सात हजार चार सय ५६ जनाले पहिलो डोज लगाएका छन् भने दुवै खोप लगाउनेको सख्या पाँच हजार दुई सय ७३ रहेको छ । – न्युजर कारखाना