काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको पुनर्स्थापनामा नेपाली सेनालाई खटाइने भएको छ। प्राविधिकहरुको आकलन विपरीत ठूलो क्षति भएर परियोजना अनिश्चित भएपछि मेलम्ची खानेपानी विकास समितिले काम बाँडेर गर्न योजना प्रस्ताव गरेको हो ।
आयोजनाको प्रस्तावित योजनाअनुसार सेना खटाउने/नखटाउनेमा सरकारले निर्णय भने गरिसकेको छैन। सेनाले दूरगामी महत्त्व र ठूलो लागतका पूर्वाधार आयोजनाहरुमा काम गर्दै आएको छ। मेलम्चीमा पनि काम गर्ने बारे भने प्रस्ताव रक्षा मन्त्रालय र सेनासम्म पुग्नै बाँकी छ।
सेना अघि लगाएर एक्लै गर्न दिने ७५ करोड लागत आउने दुइटा काम छन् भने आयोजना निर्माण कम्पनीसँग मिलेर गर्ने १ करोड ७५ लाख लागत आउने अनुमान गरिएको एउटा काम प्रस्तावित छ।
भेम्राथाङको पहिरोपछि अहिले आएर आयोजनास्थल र त्यसभन्दा तल्लो क्षेत्रलाई मात्रै ध्यान दिएर काम गरेको खुलेको छ। आयोजनास्थल माथिल्लो क्षेत्रबाट आएको पहिरो र बाढीले पुरेको छ, जसको हेक्का नै प्राविधिकले राखेका थिएनन्।