Logo
Logo

खुल्न थाले विद्यालय


378
Shares

बागलुङ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् ।

कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए । ‘बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ?’ उनले भने ।

‘महामारीको जोखिम कम भएका ठाउँमा विद्यालय खुलेका छन् नेपाल माविमा पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म आइतबार, मङ्गलबार, बिहीबार ६ देखि ९ सम्मको कक्षा सोमबार, बुधबार, शुक्रबार र कक्षा १० आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भइरहेको छ ।

सानो उमेरका बालबालिकाका लागि अनलाइन कक्षा प्रभावकारी नभइरहेका बेला गाउँका विद्यालयले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्रत्यक्ष सिकाइविधि अपनाएका हुन् । दुर्गममा इन्टेरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालनमा चुनौती छ ।

केही समय विद्यार्थीका घरघरमा पुगेर टोल शिक्षामार्फत सिकाइ सहजीकरण गरिए पनि त्यसलाई निरन्तरता दिन व्यवस्थापकीय कठिनाइ भएको प्रअ अधिकारीको भनाइ छ ।

कक्षाकोठाभित्र भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा भने कडाइ गरिएको उनले भने । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कोरोना सङ्क्रमणको अवस्था हेरेर जोखिम नभएका ठाउँमा विद्यालय खोल्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्