काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा मागेको छ ।
सत्तारुढ दल नेकपा एमालेका १२ जना सांसदहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि शाक्यको बहुमत गुमेको छ । शाक्यले बहुमत गुमाएपछि विपक्षी कांग्रेसले उनको राजीनामा मागेको हो ।
बहुमत गुमेपछि नैतिकताको आधारमा शाक्यले राजीनामा दिनुपर्ने कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले बताए । उनले भने, ‘उहाँ (शाक्य)ले विश्वासको मत लिएपनि बहुमत प्राप्त गर्ने सम्भावना छैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ।’
बहुमत गुमेपछि शाक्यले एक महिना भित्रमा विश्वासको मत लिनुपर्दछ । बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ । उनको पक्षमा ४४ एमाले सांसद छन् ।
बागमतीमा माओवादी केन्द्रका २३, कांग्रेसका २१ सांसद छन् । उक्त संख्यामा एकीकृत समाजवादी थपिएपछि गठबन्धनलाई सुविधाजनक बहुमत पुग्ने छ ।