काठमाडौं । सीमा क्षेत्रमा प्रहरी आफैं तस्करीमा लागेको घटनाको बारेमा छानबिन गर्न डिएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । सप्तरीमा सशस्त्र प्रहरीका दुई जवान आफैं तस्करीमा लाग्दा पक्राउ परेपछि छानबिन सुरु भएको हो ।
गत ९ भदौमा सप्तरीको बोदेबसाईन नगरपालिका–६ बिहुल खोलाको पुलमा भारतबाट कपडा तस्करी गर्दै गर्दा एक जवान पक्राउ परेका थिए। जवान नन्द किशोर साहलाई प्रहरीले पक्राउ गरेको थियो भने अर्का जवान विरेन्द्र कुमार शाह भागेका थिए । घटना राती साढे १२ बजेको हो ।
नन्द किशोरले स ८ प ७६६५ तथा वीरेन्द्रले स ८ प ८४३१ नम्बरको मोटरसाइकलमा कपडा तस्करी गरेका थिए । सुभनपट्टी बिओपीबाट सइ अंगद हरिजन दासको कमाण्डमा खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । पछि डिउटीमा रहेका प्रहरीलाई धकेलेर उनीहरु मोटरसाइकल र कपडासहित नै भागेका थिए । दुवैको मोटरसाइकल ४ किलोमिटर पर भाटिनमा भेटिएको थियो । तर, कपडा भने थिएन । कपडा अरुले लुटेर लगेको जवान नन्द किशोरले बताएका छन् ।
यो घटनाले एकातर्फ प्रहरी नै सीमामा तस्करीमा संलग्न रहेको खुलेको छ भने अर्काेतर्फ पक्राउ परेकालाई नाटकीय रुपमा भगाइएको आशंका समेत गरिएको छ । त्यसबारे छानबिन गर्न समिति गठन भएको हो । जवान नन्द किशोर पातो बिओपीमा तथा वीरेन्द्र तनहुँको मनकामना गणमा कार्यरत प्रहरी हुन् । उनीहरु विदा लिएर आफैं तस्करीमा लागेका हुन् । घटनाको छानबिनका लागि डिएसपी श्याममणी ढकालको नेतृत्वमा छानबिन समिति गठन भएको हो । यसरी तस्करीमा संलग्न प्रहरीलाई बर्खास्त गर्नुको विकल्प नभएको अन्य प्रहरीहरु बताउँछन् ।
यो घटनाले गणपति राजु श्रेष्ठ र बाहिनीपति चन्द्रप्रकाश गौतमकै कमाण्डमाथि समेत प्रश्न उठेको छ । छानबिन समितिका संयोजक बनाइएका डिएसपी ढकाल आफैं पनि ताल्लेजुङमा गुल्मपति हुँदा राशन अनियमितताको आरोपमा कारबाही भोगेका अधिकृत हुन् ।
बिओपीमा जाने इन्सपेक्टरहरु पहिले नै पैसा बुझाएर जाने भएकाले पनि सीमामा तस्करी बढेको छ । तल्लो तहका कतिपय प्रहरी त आफैं तस्करी तथा अपराधिक गतिविधिमा संलग्न हुन थालेका छन् । यसले सीमा सुरक्षामै समेत जोखिम उत्पन्न भएको छ । जिल्लाका गणपतिहरुको समेत ध्यान पैसामै हुँदा यस्तो विकृती बढेको हो ।