सुर्खेत । एकोहोरो आफ्नै कर्ममा टोलाएका कानहरु एक्कासी सारंगीको मनै रेट्ने धुनमा पुग्यो । सारंगीको धुनका कारण हस्याङ्फस्याङ् गर्दै गन्धर्व दाइसम्म पुगियो । गन्धर्व दाइले मनका वेदना सारंगीको तारमार्फत आँखा रसाउनगरी ओकलिरहेका थिए । वरिपरि बसेर सारंगीको धुन सुन्नेले आफ्नो जिन्दगीको गहिराइ स्मरण गर्दै थिए ।
‘सल्यान टर्यो सल्यानतिर दाङ टर्यो दाङतिर…
यो दुःखीले गीत गाएको मन पर्यो कि परेन
अहिलेसम्म यो दुःखीलाई कसैले हेरेन…
दुःखी मनको कुरा बुझ्यौँ कि बुझेनौँ …।
छिपछिपे पानी । अनुहारमा बुढ्यौलीका धर्सा कोरिएका, जीर्ण बन्दै गएको शरीर । नसा देखिन थालेका चाउरिएका गाला हातमा आफूजस्तै पुरानो र जीर्ण बन्दै गएको सारंगी बोकेर कर्णालीका विभिन्न स्थानमा सारंगी रेट्दै यी पंक्ति गाउँदै हिँड्ने वृद्ध अनुहार हुन्, गोरे गन्धर्व । उनलाई प्रायले जुङ्गे दाइ भनेर चिन्छन् ।
सुर्खेत तातोपानी टोलका ७० वर्षीय गन्धर्व १३ वर्षको उमेरदेखि सारंगी रेट्दै आफ्नै लयमा गीत सुनाउँदै बेदनाका पोका खोल्छन् । सुन्नेका गहभरि आँशु झार्दै वीरेन्द्रनगरका चोकचोक र पसलमा पुग्छन् ।
उमेरले डाडाँ काटेर घर कुर्नेबेलामा पुगेका गन्दर्भ सधैँ यसरी नै दिनभरि बजारमा सारंगी रेटेर जीविका चलाउँदै आएका छन् । ‘७ पुस्तादेखि जग्गाजमिन, लालपुर्जा भन्ने छैन । सम्पत्तिका नाउँमा यही एउटा सारंगी हो,’ उनले भने, ‘५३ वर्षदेखि यही सारंगी रेट्दै परिवार गुजारा चलाउँदै आएको छु ।’
उनका पुर्खाले पनि सारंगी रेट्दै गाउँघर चहार्दै लालाबाला पालेका थिए । गोरे ४ वर्षको हुँदा आमा खसिन् । खाऊँ–खाऊँ र लाऊँ–लाऊँ भन्ने उमेरमा बुबाको पछिपछि झोला बोकेर जाने गरेका गोरेले १२ वर्षको उमेरमै सारंगी रेट्न सिके ।
सानै उमेरमा बुबाको पनि मृत्यु भयो । बुबाको मृत्युपछि टुहुरा भए र घरको सबै जिम्मेवारी गोरेमाथि आइलाग्यो । बिहान सबेरै निस्केर दिनभर गाउँमा सारंगी रेट्दै मानोमुठी ल्याएर आफ्नो र भाइ–बहिनीको पेटको आगो निभाउँथे ।
स्कुल पढ्ने उमेरमा बुबाको झोला बोकेर हिँडेको अहिलेपनि झलझली सम्झन्छन, उनी । ‘बुबाले सारंगी रेटेको देखेर मैले पनि रेट्न सिकेँ । पछि आमाको पनि मृत्यु भयो र केही समयपछि बुबाले पनि संसार छाडे । त्यसपछि भाइबहिनी हुर्काउने सबै जिम्मेवारी मेरै काँधमा आयो’ उनले त्यो पल सम्झिए ।
पहिले–पहिले गाउँभरि डुल्दा १०–१५ पाथी अन्न हुन्थ्यो रे । ‘त्यो अन्न ट्रकमा बोकेर घरमा ल्याउँथेँ’, उनले भने, ‘अहिले गाउँभरि डुले पनि कसैले बुझ्दैनन् मेरो पीडा ।
सारंगीमोह कम हुँदै
पछिल्लो समय सारंगीको धून समाजले भुल्दै गएको छ । युवा पुस्तामा सारंगीमोह कम हुँदै गएकामा चिन्तित छन् उनी । ‘अहिलेको युवा पुस्ताले पुरानो संस्कार र चलन भुल्दै गएको छ’, उनले भने, ‘अहिले हाम्रो जातिका मानिस सारंगी छुनसमेत मान्दैनन ।’
‘कुनै समय समाजमा दुःख पीडाका विषयमा बोल्दा, परदेशी कथा सुनाउँदा, माया प्रीतिका गीत गाउँदै हिँड्दा धेरैका आँखामा आँसुका धारा बग्ने गर्थे’ उनले भने । पहिला पहिला गाउँघरमा पुगेर गन्धर्वहरूले नै देश विदेशका घटनालाई, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनिसरा, मल्लार, कर्खार र असारे लगायतका भाकामा खबर दिँदै घुम्ने गर्थे ।
गाइने दाइ भनेर संबोधन गरिने गन्धर्व लोप हुँदै गएकामा उनी निकै दुःखी छन् । ‘अहिलेका पुस्ताले भाकामा खबर दिने धुन भनेको के हो भनेर सोध्यो भने कसैले जान्दैनन् ।’ गोरे सारंगीलाई गन्धर्वको पेसाको माध्यममात्र ठान्न नहुने बताउँछन् । उनलाई लाग्छ, समाजका बाजागाजा, परम्परा, संस्कृति र सभ्यता पनि हुन् ।
विगतमा गन्धर्वहरूले गाउँगाउँमा सारंगी बजाउँदै विभिन्न घटनाहरूलाई सुनाउने, सूचना तथा संचारको रूपमा काम गर्ने गरेका थिए । अहिले भने सूचना र संचार प्रविधि बदिलको छ, माध्यमहरू फेरिएका छन् ।
आधुनिक प्रविधिले खोस्दै परम्परागत संस्कृति
एफएम रेडियो र हातहातमा आएका मोवाइलले गन्धर्वको पेसासँगै सारंगी र एउटा अमूल्य संस्कृति पनि हराउन थालेको उनको भनाइ छ । अहिले आधुनिक मोवाइल आएको छ । वनमा घाँस दाउरा गर्न गएका र गाइवस्तु चराउन जानेले कानमा औँला हालेर गुनगुनाउँदा रनवन थर्किने गीतका भाका पनि हराउँदै गएका छन्।
सूचना प्रविधिले अधिकांश मानिसलाई छोएको भएपनि ७० वर्षे गोरे गन्धर्वलाई भने छुन सकेन । उनी आजभन्दा ५० वर्षअघि जसरी नै सारंगी बोकेर आधुनिक बन्दै गरेको वीरेन्द्रनगर बजारकाे पसल पसलमा गाउँदै हिँड्छन् ।
‘आफु गएपछि के होला यो सारंगी पेशा अनि के होला मेरो सारंगी’ गहभरी आँशु खसाल्दै, सारंगी सुम्समाउँदै उनले भने । गोरेका ३ छोरी र २ छोरा छन् । एउटी छोरीबाहेक सबैको बिहे भइसक्यो ।
छोराबाट उनले पनाति देखिसकेका छन् । दुवै छोरासँगै बस्दैनन् । उनी भन्छन्, ‘पनाति देखिसक्दा पनि मेरा दुःख कम भएकाे छैन । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अन्य आम्दानीको स्रोत केही छैन । २ जना बुढाबुढी र एउटा छोरीलाई पाल्ने सम्पत्ति नै सारंगी हो ।’