Logo
Logo

नेता कार्यकर्ता जोगाउन उपेन्द्र यादव जनकपुरमा


756
Shares

जनकपुर । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएपछि प्रदेश र स्थानीय तहका जननिर्वाचित प्रतिनिधिले दल रोजिरहेका छन् ।

जसपाका निर्वाचित प्रनिनिधिले लोसपामा जान थालेपछि त्यसलाई रोक्नका लागि जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम पुगेका छन् । बिहीबार जनकपुरधाम पुगेका यादवले जसपा छोडेर लोसपामा नजान दबाव सिर्जना गरिरहेका छन् ।

निर्वाचत आयोगबाट जसपाको आधिकारिकता नपाएपछि लोसपा गठन गरेका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेताद्धय राजेन्द्र महतो र शरतसिंह भण्डारीसहितका नेताहरु बुधबार जनकपुरधाम पुगिसकेका छन् ।

ठाकुरसहितका नेताले आफ्नो पार्टीमा सनाखत गराउन प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिरहँदा यादव पनि जनकपुरधाम पुगेर रोक्ने प्रयास गरिरहेको एक नेताले बताए । लोसपाका नेताहरुले जसपाका प्रदेश सांसदलाई आफ्नो दलमा सनाखत गराउन प्रयास गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न अध्यक्ष यादव आफैं जनकपुरधाम पुगेका हुन् ।

यादव नेतृत्वको तत्कालीन फोरम नेपालबाट निर्वाचित प्रदेश सांसद प्रल्हाह गिरि गोस्वामीले लोसपा रोजिसकेका छन् । जनकपुरधाम पुगेका जसपा अध्यक्ष यादवले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै २२ भदौपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्