काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।
पार्टीको १४औँ महाधिवेशनका क्रममा शुक्रबारदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताएका हुन् ।
उनले पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताउँदै भने, ‘कांग्रेसको वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक साङ्गठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको आजदेखि सुरु हुँदैछ ।’
महामन्त्री डा कोइरालाले पार्टी, लोकतन्त्र र सिँगो राष्ट्रको बहुआयमिक भविष्य निर्माणका जगमा उभिएका पार्टीका क्रियाशील साथीहरुलाई सुझबुझपूर्ण निर्णय गर्न पनि आग्रह गरेका छन् ।