Logo
Logo

पर्वतमा पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो


756
Shares

पर्वत । पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै, एक वृद्धा बेपत्ता भएकी छन् ।
मृत्यु हुनेमा एकै परिवारका ५ जना छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो ।

उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको प्रदेश प्रहरीका डीएसपी मिनबहादुर घलेले बताएका छन् ।

यस्तै, कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।

साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको घलेले बताए ।

उनका अनुसार मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्