Logo
Logo

स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : नेता पौडेल


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।

पार्टीको शुक्रबारदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गरेका छन् ।

यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस संगठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताए । उनले भने, ‘लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सवल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

उनले संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुद बनाउन सक्ने र देशलाई गति दिन सक्ने समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व अहिलेको पार्टीभित्रको आवश्यकता भएको बताए ।

नेता सिंहले कांग्रेस बलियो बन्दा मुलुकको लोकतन्त्र बलियो हुने जनाउँदै कांग्रेसलाई बलियो बनाउन नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गरको छन् ।

प्रतिक्रिया दिनुहोस्