काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्न जनताको बहुदलीय जनवाद (जबज) आफ्नो एकमात्र शर्त रहेको बताएका छन् ।
गौतमको सचिवलयले एक विज्ञप्ति जारी गरी जबज सैद्धान्तिक धार रहनुपर्छ भन्ने बाहेक अन्य सर्त नराखेको स्पष्ट पारेको हो । ‘नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त वामदेव गौतमले राख्नु भएको छैन,’ विज्ञप्तिमा उल्लेख छ ।
गौतमले सुरुमा माधव नेपालले विद्रोह गरे सघाउने वचन दिएका थिए । तर, माधव नेतृत्वको पार्टी दर्ता भएपनि गौतम एमालेमै रहेका छन् ।
बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफू निकट नेताहरु हरिप्रसाद पराजुली र केशवलाल श्रेष्ठलाई लिएर भेटवार्ता गरेका थिए।