काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । शुक्रबार वडा अधिवेशन सुरु भएसँगै महाधिवेशनको प्रक्रिया सुरु भएको हो ।
देशभरका सबै वडामा वडा अविधेशन गर्ने भनिएपनि शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ ।
निर्वाचन समितिका अनुसार प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ ।
त्यस्तै वागमतीका दोलखा, सिन्धुली र भक्तपुर जिल्लामा पनि कार्यतालिका अनुसार तोकिएकै मितिमा अधिवेशन भएको छ भने गण्डकी प्रदेशका तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दीमा वडा अधिवेशन सकिएको छ । मनाङमा अधिवेशनको मितिभन्दा दुई दिनअघि सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।
लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँचीमा अधिवेशन भएको छ भने कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट र दैलेखमा पनि अविधेशन सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशका जम्मा चार जिल्ला बझाङ, डोटी, अछाम र कञ्चनपुरमा वडा अधिवेशन भएको छ ।
क्रियाशील सदस्यता सार्वजनिक भएका २१ जिल्लाको वडा अधिवेशन भदौ २३ भित्र हुने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पामा २१ भदौमा वडा अधिवेशन हुनेछ ।
यस्तै बागलुङ, सल्यान, मुगु र बैतडीमा पनि २१ भदौमै वडा अधिवेशन हुनेछ । प्यूठान, दाङ, कालीकोट र दार्चुलामा २२ भदौमा वडा अधिवेशन हुनेछ भने नवलपुर, रोल्पा र रुकुम पश्चिममा २३ भदौमा वडा अविधेशनको मिति तय गरिएको छ ।