काठमाडौं । एक महिनाअघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन ।
एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन भएपछि उनीहरू बसाइँ सर्ने तरखरमा थिए । बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार तीन जनाको मृत्यु पछि अहिले अर्कै ठाउँमा सर्ने तयारीमा छन् । दलबहादुरको मिर्गौलामा समस्या थियो । गलत खानपान र हेरचाहको कमीका कारण समयमै उपचार हुन नसक्दा उनीहरूको सङ्ख्या घटिरहेको उक्त बस्तीमा काम गर्दै आउनुभएकी दुर्गा खत्रीले बताउनुभयो ।
“राउटेले बाहिरकाले भनेको मान्दैनन्”, उहाँले भन्नुभयो, “गलत व्यवहारलेले गर्दा नै उनीहरुको अस्तित्व सङ्कटमा परिरहेको छ ।” राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले एकदशकअघि बस्तीमा पुग्दा उनीहरूको सङ्ख्या २६८ रहेकामा घटेर अहिले १३७ पुगेको बताउनुभयो। “ एक दशकको अवधिमा मात्र १३१ राउटे घटेकाले त्यहाँ जुनसकुै योजना लैजानुभन्दा उनीहरुले स्वीकार गर्ने खालका योजना लैजानुपर्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यसमा सरोकार निकाय सबैले ध्यान दिन पर्छ ।” राउटे बस्तीमै छाप्रोमा बसेर उनीहरूको सङ्ख्या गणना गर्नुपर्नेमा उहाँको जोड थियोे ।
“मैले राउटेको भान्छामै खाएर र उनीहरुसँगै रहेर गणना गरेको हुँ”, अध्यक्ष अधिकारीले भन्नुभयो “तर अहिले उनीहरूको सङ्ख्या आधा घटेको छ । यसरी सङ्ख्या घट्दै जाने हो भने राउटेकोे अस्तित्व नै लोप हुने छ ।” समुदायबाट अलग्गै बस्ने र जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएकामा आधुनिकताले राउटेलाई सताएको छ काठका विभिन्न सामग्री बनाएर आफ्नो जीविका चलाउने र जङ्गलका कन्दमूल तथा विभिन्न जडीबुटी ल्याएर खान्थे । गुना बाँदर शिकार गर्ने गर्ने उनीहरू पैसा छोए पाप लाग्छ भन्ने र प्रकृतिमै रमाएकाले बिरामी परे पनि जडीबुटीले निको गरिहाल्थ्यो । उतिबेला बिरामी कम पर्थे ।
बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुबैले उत्तिकै सताउन थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । तीव्र् बस्ती विकासले आफूहरुको जङ्गल विनाश हुँदै गएको राउटेको गुनासो छ । जङ्गल मासिँदा गुना बाँदर, गिठ्ठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेको छन् भने परम्परागत पेशासमेत सङ्कटमा पर्न थालेको छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।