सुनसरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अन्ततः ओली समूहबाटै धक्का खाँदैछन् । माधव नेपाल समूह छाडेर केपी शर्मा ओलीको पक्षमा लागेपछि मुख्यमन्त्री बनेका आचार्र्यलाई एमालेकै नेताहरुले ‘बहिस्करण’मा पार्न थालेका छन् ।
आचार्यको गृहजिल्ला सुनसरीमा नेकपा एमालेका कार्यकर्ता आचार्यप्रति रुष्ट बनेका छन् । १० बुँदे सहमति कार्यान्वयन गर्दै सुनसरी जिल्ला कमिटी जेठ २ अघिको पुनर्गठित हुनुपर्नेमा सुनसरीका एमाले नेताहरु तेस्रो धारकालाई समेट्न नसकिने बताउनउन थालेका छन् ।
यसअघि सुनसरीमा एमालेका दुवै समूहले समानान्तर कमिटी बनाएका थिए । एमाले ओली पक्षले रेवती भण्डारीको नेतृत्वमा करिब साढे ४ सय सदस्य रहेको जिल्ला कमिटी बनाएको थियो भने माधव नेपाल समूहले करिब २५० सदस्य रहेको समानान्तर जिल्ला कमिटी बनाएको थियो ।
सुनसरी जिल्ला कमिटीका करिब २५० जनामध्ये एक सयभन्दा बढी माधव नेपालको नयाँ दल नेकपा एकीकृत समाजवादीमा गएका छन् ।
सुनसरीका ओलीनिकट एक नेताका अनुसार जेठ २ मा फर्कने हो भने रमेश बस्नेतलाई एमालेको जिल्ला अध्यक्ष बनाउनुपर्ने हुन्छ । पुस ५ यता रेवती भण्डारीलाई अध्यक्ष बनाएर धेरै अगाडि बढिरहेका बताउँदै उनले काँग्रेससँग गठबन्धन बनाएर हिँडेका बस्नेतलाई एमालेको अध्यक्ष मान्न तयार नभएको बताए । उनले भने, ‘हामी सिुनसरीमा जेठ २ लागू हुन दिन्नौँ ।’
यसतै, केपी ओलीनिकट नेताहरुले सुनसरीमा जेठ २ लाग नहुने बताइरहँदा एमाले सुनसरी जिल्ला कमिटीका सदस्य भीम ज्वाला राई भने जिल्लाले केन्द्रको सर्कुलर मान्दिनँ भन्न नपाउने बताउँछन् । उनी िभन्छन्, ‘जेठ २ को संरचनामा फर्कने १० बुँदे निर्णयमा केपी ओलीको पनि हस्ताक्षर छ । केन्द्रबाट यसबारे सर्कुलर आइसकेको छ ।’ उनले केन्द्रको निर्णय र विधि पद्दति मान्दिनँ भन्न नपाइने भन्दै सुनसरी जिल्ला कमिटी पनि जेठ २ मा फर्कनैपर्ने बताइरहेका छन् ।
मुख्यमन्त्री आचार्यको विरोध गर्ने वा रमेश बस्नेतलाई जिल्ला अध्यक्ष मानिँदैन भन्ने ओली पक्षका नेताहरुको भनाइलाई राईले फुटपरस्त संकीर्ण विचारको संज्ञा दिएका छन् । ‘१० बुँदे सहमति भएर जेठ २ मा फर्कने पार्टीले निर्णय गरिसकेपछि त्यसलाई मान्दिनँ कसैले भन्छ भने त्यसले फुटलाई नै मलजल पुर्याउँछ’ उनको भनाइ छ । तर, ओली पक्षका नेताचाहिँ जेठ २ मा फर्केर रमेश बस्नेतलाई जिल्ला अध्यक्ष मान्न नसकिने बताउन थालेका छन् ।