काठमाडौं । नेकपा (एमाले) भित्र १० बुँदे प्रस्ताव कार्यान्वयन नहुँदा पुनः ‘खटपट’ शुरु भएको छ । एमालेमा विवाद चर्किँदै गएपछि पार्टी एकताका लागि गरिएको १० बँदु प्रस्ताव ओझेलमा परेपछि दोस्रो पुस्ताका नेताहरुको सशंकित भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाउँने प्रतिबद्धता गरेका थिए । एमाले विभाजन गरेर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि उनको साथ छोडेर दोस्रो पुस्ताका नेता एमालेमै बसेका थिए । उनीहरुले अध्यक्ष ओलीबाट १० बुँदे कार्यान्वयनको प्रतिबद्धता पाएपछि एमालेमै बस्ने निष्कर्षमा पुगेका हुन् ।
तर पार्टीभित्रको पछिल्लो गतिविधि हेर्दा १० बुँदे कार्यान्वयन भएको छैन् । १० बुँदे प्रस्ताव अनुसार एमाले सचिव योगेश भट्टराई पार्टीको प्रवक्ता हुन् । तर एमाले अर्का सचिव प्रदिप ज्ञवाली पार्टीको प्रवक्ता भनेर विज्ञप्ती जारी भएपछि १० बुँदे कार्यान्वयन नभएको प्रष्टै देखिन्छ ।
यस्तै एमाले निकटको प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए) को भेला गत शुक्रबार ललितपुरको च्यासल स्थित तुल्सीलाल स्मृती प्रतिष्ठानमा मा भयो । तर पीपीएलएका अध्यक्ष रहेका रुद्रप्रसाद नेपाललाई सो भेलाको बारेमा थाहा नै छैन् । पीपीएलए इन्चार्ज रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले सो भेला रोक्न सल्लाह पार्टी अध्यक्ष ओलीलाई दिएका थिए । संगठनको निर्णय र सल्लाहमा भेला आयोजना नगरिएको भन्दै रोक्न माग गरिए पनि भेला रोकिएन् ।
पार्टी अध्यक्ष ओली स्वयं सो भेलामा सहभागि हुने कार्यक्रम बनेको थियो । तर पन्तको विरोध पछि ओली कार्यक्रममा सहभागि भएनन् । तर ओलीले सचिव ज्ञवालीलाई पठाएर भेलाको कार्यक्रम सम्पन्न गरे । भेलामा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुको सहभागितामा सम्पन्न भएको छ ।
‘भदौ १८ गते शुक्रबारका दिन पीपीएलए केन्द्रीय समितिका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णयबिना भएकाले उक्त भेलाबारे पीपीएलएलाई संस्थागत रुपमा कुनै जानकारी नभएको व्यहोरा अनुरोध छ’ अध्यक्ष नेपालले एक अपिल जारी गर्दै समाजिक सञ्जालमा लेखेका थिए, ‘पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीलाई उक्त भेलामा सहभागी नहुन हार्दिक अपिल गर्दछु ।’
गत ९ भदौमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरे पनि अध्यक्ष ओली एकलौटी अघि बढ्न खोजेपछि पार्टीभित्र पुनः विवाद शुरु भएको हो । असन्तुष्ट एक नेताका अनुसार १० बुँदे कार्यान्वयन गर्ने प्रतिबद्धता आए पनि त्यो कार्यान्वयन भएको छैन् ।
पार्टीलाई २ जेठको अवस्थामा फर्काउने क्रममा कुनै विवाद भएमा त्यसको समाधान गर्न कार्यदलसमेत गठन भैसकेको छ । एमालेले सम्पूर्ण जनसंगठनको एकीकरण व्यवस्थित गर्ने सम्बन्धमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ ।
पीपीएलएका इञ्चार्ज पन्तले भेलाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । पन्तले एकतर्फी भेला रोक्न आग्रह गर्दा समेत ओली समूहले नमानेको बताईएको छ ।
पछिल्लो पटक बसेको स्थायी कमिटी बैठकमा एमाले महासचिव पोखरेलले १० बुँदे सहमति हुबहु लागु नहुने बताएका थिए । तर नेताहरु खगराज अधिकारी, पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेत लगायतका नेताहरूले विरोध गरेपछि रक्षात्मक बनेका महासचिव पोखरेलकै निर्देशनमा यस्ता कार्यक्रम हुन थालेको एमाले स्रोतको दाबी छ ।
२७ असारमा १० बुँदे सहमति गरी यसअघि नेपाल समूहमा रहेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउँने अभियानमा जुटेका थिए ।