धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले आफूलाई मधेसमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि अग्रसर भइरहेको अवस्थामा उपेन्द्रसँग पार्टी एकता गरे पनि उनले धोका दिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘हामी मधेसी एकतावाद जिन्दावादको नारा लगाउँदै थियो, उपेन्द्रसँग एकता गरियो । तर उनले एकतालाई गलत रुपमा बुझे । जसकारणले एकता टिकेन ।’
महतोले मधेसको जनतालाई अब मुर्ख बनाउन नसकिने भन्दै सारा परिस्थितिको विषयमा जनता जानकार रहेको कारणले आउने दिनमा सबै परिस्थितिलाई लिएर जनताको बिचमा जाने बताए । उनले केही व्यक्तिलाई लोभ दिएर आफूतर्फ ताने पनि केही दिनमा उनीहरुको भ्रम निवारण भएर पछुतो मात्रै गरिने ठाउँ रहेको बताए ।
तपाईहरुको धेरै कार्यकर्ताहरु उपेन्द्र यादवतिर गएको प्रश्नमा महतो आफूहरु पार्टी बनाउन खोजेको कारणले उनीहरुको स्वार्थलाई पूर्ति गर्न नसक्दा उता गए पनि आउने दिनमा उपेन्द्रको साथ छाड्ने दाबी गरे ।
महतोले उपेन्द्र यादव अहिले पनि कम्युनिस्ट मानसिकताबाट माथि उठ्न नसकेको बताउँदै उपेन्द्र पक्षले देखावटी रुपमा मधेसको कुरा गरेपनि वास्तविकरुपमा मधेस पक्षधर नरहेको अरोप लगाए ।
महतोले पार्टी निर्माणको क्रममा आफूहरु निस्वार्थभावले लागे पनि त्यसलाई उपेन्द्र यादवले दुरुपयोग गरेको र आफ्नो पार्टीलाई फुटबाट जोगाउनको निमित्त प्रयोग गरेको आरोप लगाए ।