काठमाडौं । नेपालगन्ज विमानस्थलमा शुक्रबार बरामद भएको चार किलो सुनको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति बनाएको छ। त्रिभुवन विमानस्थल हुँदै शुक्रबार नेपालगन्ज पुगेको सुनलाई विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरीले बरामद गरेको थियो ।
त्यती धेरै सुन काठमाडौँ विमानस्थलबाट कसरी बाहिरियो भन्ने विषयमा छानबिन गर्न त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।
नेपालगन्ज विमानस्थलमा कार्यरत प्रहरीले सुनसहित झापा खुदुनाबारी–६ का २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग–२ का २६ वर्षीय बुद्धिमान खातीलाई शुक्रबार दिउँसो नेपालगन्ज विमानस्थल परिसरबाट पक्राउ गरेको थियो । जून घटनाले काठमाडौं विमानस्थलको सुरक्षामाथि प्रश्न उठेको थियो ।
त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार समितिमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षक सदस्य रहेका छन्। यति ठूलो परिमाणको सुन त्रिभुवन विमानस्थलबाट कसरी बाहिरियो भन्ने बारे समितिले छानबिन गरेपछि प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने बास्तोलाले बताए।