काठमाडौं, १० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जंगी अड्डा भवनको मंगलबार उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जंगी अड्डामा आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् ।
गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महिनामा तयार भएको हो । भवन निर्माणका लागि दैनिक ४०० जनशक्ति अहोरात्र खटिएका थिए । सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४ करोड विनियोजन गरेको थियो ।
उद्घाटनपछि आयोजित समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार पुनःनिर्माणको अभियानलाई कसरी अघि बढाउन चाहन्छ भन्ने दृष्टान्तका रुपमा जंगी अड्डा भवन निर्माण भएको बताए । रक्षामन्त्री पोखरेलले भने, ‘राष्ट्रिय महत्वका विभिन्न राजमार्गको निर्माण समयमै सम्पन्न गरेर राज्यले दिएको जिम्मेवारीलाई सेनाले समयमै पूरा गर्दै आएको छ, प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनका घटनापछिका उद्धार र राहतका काममा पनि सेनाले क्रियाशील र जिम्मेवार ढङ्गबाट कार्यसम्पादन गरेको हुँदा सबैबाट प्रशंसा र धन्यवाद पाउँदै आएको छ ।’
उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ कार्यालय सञ्चालन हुनेछ । अलग अलग सात भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लोे छ । सैनिक मुख्यालयको सङ्गठन संरचनानुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले गोरखा भूकम्पबाट क्षति भएपछि जंगी अड्डाका काम चौरमा पाल टाँगेर गर्नुपरेको घटना सुनाउँदै जंगी अड्डा भवन निर्माणसँगै सेनाको पूर्वाधार निर्माणमा व्यावसायिकता र कार्यदक्षता अभिवृद्धि हुने बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि भइरहेको पुनःनिर्माणको कामको नमूनाका रुपमा सैनिक मुख्यालय भवन रहेको बताए । उनले भने, ‘भूकम्पमा क्षति भएका सात लाख निजी घरमध्ये हालसम्म ५० प्रतिशत घर बनिसकेको, ३० प्रतिशत निर्माणाधीन अवस्थामा रहेको तथा २० प्रतिशत लाभग्राहीलाई परेको अप्ठेरो सुल्झाउने क्रममा रहेका छन् ।’
आवश्यकतानुसार छाना (छत)मा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जंगी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचनाम क्षति पुगेको थियो ।
नयाँ भवनबाट दैनिक रूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्न सक्ने आयोजना प्रमुख एवं उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिनुभयो । भूकम्प प्रतिरोधात्मक उक्त भवनमा क्युविकलसहित ४३० कोठा रहेको उहाँले जानकारी दिनुभयो । भूकम्पपछि खुम्चेर काम गर्नुपरे पनि छोटो समयमै उच्च गुणस्तरीय ढङ्गबाट मुख्यालय भवन निर्माण भएपछि जङ्गी अड्डामा रहने नेपाली सेनाको जनशक्तिलाई काममा सहज हुनेछ ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण तथा संवैधानिक निकायका प्रमुख उपस्थित थिए । उद्घाटन समारोहपछि राष्ट्रपतिसहित विशिष्ट महानुभावले उक्त नवनिर्मित भवनको निरीक्षण गरेका थिए । रासस