काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।
बुधबार एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो ।
उक्त रिटमा निर्वाचन आयोगले वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै एमालेका तर्फबाट अन्तरिम आदेश माग गरिएको छ ।
यस्तै, सभामुख अग्नि सापकोटाले पार्टीबाट कारबाही भएका एमाले सांसदहरुको सूचना टाँस नगरेको र लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै रिट दर्ता गरिएको छ ।