दमक । झापाको कनकाइ नगरपालिका–७ विरिङ खोलामा आइतबार आमा–छोराको शव फेला परेको छ । मृत फेला पर्नेमा मोरङको विराटनगर घर भइ हाल कनकाइ नगरपालिका–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनका अढाइ वर्षीय छोरा शिशिर रहेका प्रहरीले जनाएको छ।
मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन्। शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिइ घरबाट सुटुक्क हिँडेकी विक र बालकको शव विरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।
विरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला परेको थियो। प्रहरीले उनले बच्चासहित खोलामा हाम फालेको हुनसक्ने आशंका गरेको छ।