Logo
Logo

माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन


378
Shares

काठमाडौं । अथक मिहिनेत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो ।

प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्यालाई छिचोलेर आयोजना सफल भएको हो । स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखाको बिगु गाँउपालिका–१ मा रहेको आयोजनाको व्यावसायिक उत्पादन शुरु गरिएको दिन बौद्ध परम्पराअनुसार स्थानीय लामामार्फत शान्ति स्वस्ती गर्दै आयोजनाको सफलताको कामना गरियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सार्वजनिक गर्नुभएको भिडियोमा आयोजनाको पूर्ण सफलताको कामना गर्दै लामा गुरुले आयोजनाले देशकै लागि उज्यालो छर्ने काम गरोस् भन्ने कामना गर्नुभएको थियो ।

सो आयोजनाको गत असार २१ गते उद्घाटन गरिएको थियो । आयोजनावटा उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२०र१३२ केभी क्षमताको न्यून खिम्ती सवस्टेशनमा जोडिएको छ । सो सवस्टेशन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सवस्टेशनमा जोडिएको छ ।

विसं २०६८ भदो १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गर्नुभएको हो । आयोजना निर्माण सकिन भने ११ वर्ष लाग्यो । मुख्य सुरुङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरीकोट सडक स्तरोन्नतीका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुग्यो ।

आयोजनाको शुरुआती लागत निर्माण अवधिको ब्याज बाहेक रु ३५ अर्ब २९ करोड रहेको भए पनि डिजाइनमा गरिएको परिवर्तन, निर्माण अवधि लम्बिदा प्रशासनिक र परामर्शदातको खर्चमा भएको बढोत्तरी, बजार मूल्यमा भएको वृद्धिका कारण निर्माण सामग्रीमा परेको प्रभावका कारण लागत बढ्न गयो । आयोजनाका अनुसार विविध कारणले गर्दा लागत रु ५२ अर्ब पुगेको छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्