परम्रागतरुपमा बर्षभरको थकान भुल्दै भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तीज हिन्दू नारीको महत्वपूर्ण चाड हो । परापूर्वकालदेखि नै भगवान् शिवका अनुयायीले तीज मनाउँदै आएका छन् ।
हिन्दू नारीद्धारा परम्परागत तथा मैलिकरुपमा मनाइँदै आएको यो चाड पछिल्लो समयमा अन्य धर्म र जातिका नारीले पनि मनाउन थालेका छन् । यसलाई सकारात्मक मान्नुपर्छ । एकअर्काको आस्था र विश्वासप्रति सम्मानको वातारण बन्छ ।
नेपालमा त तीजको रौनक हुने नै भयो । विश्वका कुना–कुनामा समेत तीज मनाइन्छ । जहाँ–जहाँ हिन्दु नारी, त्यहाँ–त्यहाँ तीजको रौनक ।
धार्मिक मान्यताअनुसार भगवान शिवकी अर्धांगिनी हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीले हरितालिका तीजका रूपमा मनाउँदै आएका हुन् । पार्वतीले महादेवलाई पतिको रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेको कुरा शास्त्रमा पढ्न पाइन्छ । सोही दिनको सम्झनामा अहिले पनि विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित नारीले असल तथा सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ । दूध, घिउ, चामल, नरिवल, किसमिस लगायत मिसाइएर बनाएको ‘ढकने’लाई दर भनिन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन राती १२ बजे अगाडि उठेर दर खाई भोलिपल्ट तृतीयाका दिन निराहार व्रत बस्ने चलन छ ।
चौंथीका दिन स्नान गरी खाना खाएर नाचगान गर्ने चलन छ । तीजको तेस्रो दिन ऋषिपञ्चमीमा समेत व्रत बस्ने चलन छ । धार्मिक मान्यता अनुसार यो व्रत भने रजस्वला नभएका महिलाहरुले बस्नु हुँदैन । ऋषिपञ्चमीका दिनमा ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । सो दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिनमा पतिले पकाएको भोजन सेवन गरे आपसी आत्मीयता एवं सद्भाव अझ बढ्ने मान्यता छ ।
धार्मिक मान्यताअनुसार तीजमा लगाइने पहिरन तथा गहनाको पनि छुट्टै महत्व छ । रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । मान्यताअनुसार पोतेले शान्ति र आनन्द प्रदान गर्छ । रातो टीकालाई सौभाग्यको प्रतीक मानिन्छ ।
तीजमा विकृति
तीजको धार्मिक महिमा छ । सामाजिक मान्यता छ । तर, आजकल तीजको महिमा हराउँदै गयो । तीजप्रति गलत सामाजिक मान्यता स्थापित हुने खतरा बढ्दै गयो । तीज परम्परा भन्दा पनि फगत उत्सवमा परिणत भयो । मौलिकता हराउँदै गयो । विकृतिले तीज प्रति नकारात्मक धारणा बन्दै गयो । परिस्थिति यस्तो बन्यो– तीज हुनेखानेका लागि धन दौलत प्रर्दशन गर्ने अवसर बन्यो । आर्थिक रुपमा विपन्नका लागि चाड नै नहुने वातावरण बन्यो ।
तीजको सौन्दर्य निरहार व्रतमा हुन्छ । महंगो गहना र मदिरामा तीजको रौनक खोज्नु गलत हो । माइतीघरमा चेली पर्खने दिन छैन । शहरका पार्टी प्यालेसहरुमा महिनौ रम्ने चेलीहरुलाई माइत पुग्ने फुर्सद हुँदैन । महंगा गरहगना र मदिरामा मस्त चेलीहरुलाई माइतको दर खल्लो लाग्दो हो !
निराहार व्रतमा तीजको सौन्दर्य हरायो । मदिराको मस्त मदहोसीमा आनन्दभूत गर्नेहरुका लागि माइत पुगेर दुःख पोख्नु छैन । गीतहरुमा पीडा पोख्न छोडियो, तीजका महिना बोक्ने भाका हरायो । पार्टी प्यालेसहरुमा मुन्नि बदनाम हुनुको कारण खोज्नु छ यहाँ !
तीजबारे आ–आफ्नै धारणा छन् । महिला मुक्ति र तीजलाई सन्दर्भ बनाएर ब्याख्या गरिन्छ । नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति वा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वको रुपमा तीजको विशेष महत्व रहेको व्याख्याहरु हुने गरेका छन् । समाज सधै एउटै गतिमा हुँदैन । महिला आत्मनिर्भर हुँदै गए । आर्थिक रुपमा सम्पन्न भए । त्यसैले तीज मनाउने परम्परामा पनि परिवर्तन आयो, भन्ने धारणा पनि छ ।
मान्नु पर्छ, समय सधै एकनासको हुँदैन । गतिशील समयसँगै समाजका अवयावहरु परिवर्तन हुन्छन् । त्यसो भन्दैमा सबै सामाजिक मान्यताहरुमा परिवर्तन हुनपर्छ भन्ने हुँदैन । हाम्रा सांस्कृतिक मुल्यमान्यताहरुमा विकृतिहरु छन् । पुराना मान्यताहरु आज सापेक्ष हुन्छन् भन्ने हुँदैन । पुरातन परम्पराहरुमा रहेका विकृतिहरु हटाउँदै जानुपर्छ भन्नेमा दुईमत हुँदैन । तर, सुधार गर्नुको साट्टो झन विकृत बनाउनु उचित हुँदैन ।
स्वास्थ्यको दृष्टिकोणले तीजको निरहार व्रत उपयुक्त नहोला । त्यसैले त आज पानीसमेत नपिइ व्रत बस्ने चलन तोड्न थालियो । तीजसँग जोडिएका कतिपय असान्दर्भीक परम्पराहरु छोड्न थालियो । तर, एउटा विकृति त्यागेर अर्को विकृति अंगाल्नु नियमसंगत हुँदैन । किनकी, हरेक चाड पर्व र सांस्कृतिक परम्पराहरुको आ–आफ्नै मान्यता मौलिकताहरु हुन्छन् ।
ति मान्यताहरु नै ओझेलमा पार्नेगरी विकृति अंगाल्दा गलत परम्पराले निरन्तरता पाउँछ । जसले हाम्रो सांस्कृतिक सौन्दर्यमा आघात पुर्याउँछ । आस्थामा र विश्वासमा चोट लाग्छ ।
तीजको नाममा देखिएका विकृतिले तीजको मौलिकता खोसेको छ । मौलिकताविहीन चाड पर्वले सांस्कृतिक मूल्यमान्यताहरु जोगाउन सक्दैन । त्यसैले भएका विकृतिहरुलाई हटाउँदै मौलिक रुपमै तीज मनाउनु पर्छ । सम्पूर्ण नारी वर्गमा तीजको शुभकामना !
(आलेखमा प्रयोग गरिएको स्केच अन्नपूर्ण पोष्ट दैनिकबाट साभार गरिएको हो ।)