पोखरा । नेकपा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले एमाले समाप्त पार्ने अभियान चलाइरहेको आरोप लगाएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेललाई सम्बोधन गर्दै एमाले समाप्त पार्न माधव नेपाल मन्त्री पदा बाड्दै हिडेको आरोप लगाएका हुन् ।
उनले एमालेसँग लड्ने आँट कसैसँग नभएको बताए । ‘विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो,’ उनले भने, ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ ।’
आफ्नो नेतृत्वको सरकरा ढाल्न पाँच भाइ जम्मा भएर देउसी खेलेको उनको भनाइ थियो । उनले भने, ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’
ओलीले मनमोहन अधिकारीले विघटन गरेको संसद्लाई अदालतले पुनःस्थापित गरेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताए । उनले भने, ‘अहिले त अदालतबाट फलानालाई प्रधानमन्त्री तोकिएको छ भनेर सोझै दिने खालको परमादेश। त्यो समेत हुनथाल्यो ।’