काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विभाजनमा लागेकाहरू पार्टीमा फर्किए एमालेले क्षमादान दिने बताएका छन् ।
मंगलबार नेकपा एमाले कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुुमार नेपालसहितका नेताहरुलाई उमालेमै फर्किन आग्रह गरेका हुन् ।
‘माधवजीले जुन पार्टी विभाजनको बाटोमा अगुवाइ गर्नुभो। यो नोक्सानको बाटो आर्जन गर्नुभो,’ उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्ने काम भयो। विभाजनमा लागेर कम्युनिस्ट आन्दोलन बलियो हुने होइन कमजोर हुन्छ।’
नेपालले पनि पार्टी विभाजन गरी नोक्सानको बाटो समाएको उनको भनाइ थियो । ‘उहाँले शक्ति क्षय गर्ने र कमजोर बनाउने बाटोमा लाग्नुभयो । त्यसैले फर्कनुस् भन्न चाहन्छु,’ पाण्डेले अगाडि भने, ‘गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं ।’