पाेखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका छन् । मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले त्यसो बताएका हुन् ।
माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरेका बेला ओलीले पुरानै अवस्थामा फर्कन नसकिने बताएका हुन् ।
‘१० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन । त्यसकारण १० बुँदे के? जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् न। त्यही हो १० बुँदे। जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ ? जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि।’
माधव नेपाललाई पनि फुट्न नदिन कार्यदल बनाएको, तर उनले १० बुँदेलाई अस्वीकार गरेको ओलीले बताए । ओलीले अघि भने, ‘हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।’