काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन् । बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले यस्तो चेतावनी दिएका हुन् ।
संसदीय दलका नेता समेत रहेका ओलीले भने, ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला,’ ओलीले भने, ‘गैरसांसदको उपस्थितिमा संसद चल्दैन । यदि आज हामीले कारवाही गरेको सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं ?’
उनले साउन २५ गते निष्कासन गरेका मान्छे २३ भदौमा बैठकमा उपस्थित हुन नमिल्ने बताए । उनले भने, ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन ।’
सभामुख अग्निप्रसाद सापकोटा एमाले सिध्याउन लागेको भन्दै यथास्थितिमा उनलाई सभामुख मान्न नसकिने ओलीको भनाइ । संसद बैठक ४ बजे बस्दैछ ।