काठमाडौं । नेकपा (एमाले) ले कारवाही गरेका सांसदहरु प्रतिनिधिसभा बैठकमा सहभागी रहुन्जेल एमालेले बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले पार्टीले कारवाही गरेका सांसद माधवकुमार नेपाल सहित १४ सांसद उपस्थित भएसम्म संसद चल्न नदिने अडान राखेका छन् ।
पार्टीले कारवाही गरेका सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै आक्रोशित एमाले सांसदले नाराबाजी गर्न थालेपछि बैठक स्थगित भएको छ । एमाले सांसदको नाराबाजीपछि सभामुख सापकोटाले दोस्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले ‘सभामुख मुर्दाबाद’, संबैधानिक ‘सर्वोच्ता कायम गर’, ‘दल फुटाउँन पाईदैन्’ जस्ता नारा लगाउँदै बैठक अवरुद्ध गरेका छन् । एमाले प्रमुख सचेतक भट्टराईले आफ्नो दल विभाजन गर्नका लागि सभामुख सापकोटा प्रयोग भएको आरोप लगाए । एमालेले कारवाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको आरोप उनले लगाएका छन् ।
‘नेकपा एमालेले कारवाही गरेका सांसदलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’ भट्टराईले बैठकमा भने ।
प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान, कानुन, नियम, विधि सारा विषय उल्लंघन गरिएको बताए । आफूविरुद्ध बैठकमा नाराबाजी भएपछि सभामुख बैठक स्थगित गरेर एमाले नेतासंग छलफल थालेका छन् ।