Logo
Logo

एमसीसी संसदमा टेबुल नै हुँदैन : नेता गुरुङ


2.2k
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट यथास्थितिमै पास हुन नदिने अडान लिएको छ ।

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने दवाव दिइरहेका बेला सत्तासाझेदार माओवादी केन्द्रले त्यसका सर्तहरु संशोधन नभई पारित गर्न नसकिने अडान लिएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता संसदबाट पारित नहुने बताए । सरकारले एमसीसीबारे सोधेको जवाफ चितबुझ्दो नभएको बताउँदै उनले एमसीसी संसदमा टेबुल नै नहुने बताए ।

‘सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिएको छ । सम्झौता भइसकेकाले त्यसका सर्तहरुसमेत संशोधन गर्न नसकिने भनेपछि अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न सकिँदैन्’ गुरुङले भने, ‘यथास्थितिमै पारित हुनैसक्दैन्, एमसीसी अब संसदमा टेबुल नै हुदैन ।’

नेपाल सरकारले एमसीसी सम्झौताबारे सोधेको ११ बुँदे प्रश्नको जवाफ अमेरिकाले बुधबार पठाएको थियो । एमसीसी बिशुद्ध रुपमा आर्थिक सहयोग कार्यक्रम रहेको जवाफ दिँदै अमेरिकाले इन्डो प्यासिफिक सैन्य रणनीतिको कुनै सम्बन्ध नरहेको उल्लेख छ । साथै, नेपाल सरकारसँग यसअघि सम्झौता गरिएकाले एमसीसीका कुनै पनि बुँदामा संशोधन गर्न नसकिने जवाफ अमेरिकाको छ ।

सरकारले प्रश्न सोध्दा जवाफमा सर्तहरु संशोधन गर्न नसकिने भनेपछि प्रमुख सचेतक गुरुङ अब यो संसदमा टेबुल नहुने बताए । माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका नेता गुरुङले पार्टीले एमसीसी सम्झौताका सर्त संशोधन नभई पारित गर्न नहुने पक्षमै रहेको बताए ।

यसैबीच एमसीसीकी उपाध्यक्ष फातिमा सुमार चार दिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेकी छन् । एमसीसी सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने ? भन्ने बिषयमा नेपालमा चर्को बहस भइरहेका बेला फातिमा सहितको टोलीले प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्