काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्नका लागि सरकारमा हुँदा सक्दो पहल गरेको बताएका छन् ।
ओली निवास बालकोट पुगेर एमसीसी उपाध्यक्ष फातिमा सुमारले गरेको भेटमा उनले सरकारमा हुँदा संसदबाट पारित गराउन पहल गरेको बताएका हुन् । तत्कालीन सभामुख र केही नेताका कारण संसदबाट पारित हुन नसकेको जानकारी दिँदै अहिले अवस्था फेरिएको समेत ओलीले बताए ।
ओली प्रधानमन्त्री भएको बेलामा ३० असार २०७६ मा संसदमा एमसीसी सम्झौता पेश गरेका थिए । तर, तत्कालिन सभामुख कृष्णबहादुर महराले अनुमोदन प्रक्रिया रोकिदिएका थिए । त्यतिबेला ओली र महराबीच लामो समयसम्म यही बिषयलाई लिएर विवाद भएको थियो ।
‘पार्टीभित्रै रिजर्भेशन भएपनि हामीले अघि बढाउने कोसिस गरेका थियौं । सदनमा हामीले नै टेबल गरेका हौँ । सभामुख लगायत केही व्यक्तिहरूको भूमिकाका कारण त्यो अनुमोदन हुन सकेन’ ओलीको भनाइलाई उद्धृत गर्दै एमाले विदेश विभागका प्रमुख राजन भट्टराईले भने, ‘तर अहिले हामी सरकारमा छैनौं । हाम्रो भुमिका बदलिएको छ । हाम्रो कुरा बुझिदिनुहोला भनेर अध्यक्षज्यूले उहाँहरुसंग यही कुरा भन्नुभयो ।’
विपक्षीमा हुँदा पनि सरकारमा हुँदा झैँ काम गर्न नमिल्ने भन्दै भट्टराईले हाल सत्तारुढ दलले अहिलेसम्म एमसीसी सम्झौता बारे आफूहरुसंग कुनै प्रकारको सल्लाह नगरेको ओलीले टोलीलाई जवाफ दिएको जानकारी दिए ।
एमाले अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेकाले सत्तारुढ दलले गर्ने छलफल पश्चात नै एमसीसीबारे के गर्ने भन्ने धारणा सार्वजनिक गर्ने भट्टराईले बताए ।
एमसीसी सम्झौता संसदबाट पारित गर्ने सरकारले तयारी गरिरहेकै बेला त्यसको पक्ष र विपक्षमा चर्को बहस हुन थालेपछि सुमारको टोली चार दिने नेपाल भ्रमणमा बिहिबार काठमाडौं आईपुगेको हो । सुमारको टोलीले प्रमुख दलका शीर्ष नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम छ ।