काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेले सृजना गरेको अवरोधका विषयमा सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बुधबार प्रतिनिधिसभाको बैठकमा एमालेले गरेको अवरोधका विषयमा समीक्षा गरेको हो ।
गठबन्धनबीच संसद बैठकलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका सल्लाहकार भानु देउवाले जानकारी दिए ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार भएको छलफलमा कुनै पनि विषयमा निर्णय नभएको जानकारी दिइन् । संसद बैठकमा एमाले सांसदले गरेको अवरोधलाई कसरी अन्त्य गर्ने र संसदको कामकारवाही अघि बढाउनेबारेमा सामान्य समीक्षा र छलफल भएको उनले बताइन् ।
यस्तै, बैठकमा मन्त्रिपरिषद विस्तार, एमसीसी सम्झौता, संसदमा पेश गर्नुपर्ने अध्यादेश र विधेयकलाई अघि बढाउनेबारे पनि छलफल भएको छ । बैठकमा प्रधानमन्त्री देउवाले भने मन्त्रिपरिषद विस्तार छिट्टै गर्नुपर्ने बताउँदै मन्त्रीको नामावली टुङ्ग्याउन चार दललाई आग्रह गरेका थिए ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाकी उपाध्यक्ष पौडेलको सहभागिता थियो । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव भने बैठकमा अनुपस्थित थिए ।