काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा सरकारले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्दैछ ।
भदौ २३ गतेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका बीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष टेबल गरेका थिए । यस्तै, आजको बैठकमा पनि एमालेले अवरोध गरेपनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने तयारी गरिएको छ ।
पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले परिमार्जन गर्ने भएको छ । यही कारण बजेट अध्यादेश जस्ताको त्यस्तै प्रस्तुत नगरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो । प्रमुख प्रतिपक्षी एमालेले भने आफ्नो माग सम्बोधन नभएसम्म संसद् चल्न नदिने बताएको छ ।