काठमाडौं । तेह्रथुम पावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीको आईपिओमा ३९.३४ गुणा बढीको आवेदन परेको थियो । आईपिओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको र २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले योग्य रहेका २३ लाख ४६ हजार ६ सय २७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफांड गरेको छ। जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २२ लाख ८१ हजार ४७ जना आवेदक हात खाली भएका छन् ।
कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणलाई शेयर खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको थियो भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याइएको थियो ।