Logo
Logo

‘राष्ट्रिय सहमतिमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ’


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन् ।

एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग शुक्रबार बिहान शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार उनको निवास खुमलटार पुगेकी थिइन् ।

अध्यक्ष प्रचण्डले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनले भने, ‘नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौँ ।

आफूहरुको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उनको भनाइ थियो । सो अवसरमा उपाध्यक्ष फतिमाले नेपालका राजनीतिक दलबीचमा अन्तक्र्रिया गर्न आफू नेपाल आएको बताएकी थिइन् । उनले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गरिन् ।

आयोजनाको उपादेयताका बारेमा जानकारी दिँदै उपाध्यक्ष फतिमाले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताइन् । उनले आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमण भएको बताएको जनाइएको छ ।

सो अवसरमा उपाध्यक्ष फतिमाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको समेत कामना गरेकी छन् । बिहीबार नेपाल आएका उपाध्यक्ष फतिमाको टोलीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्