Logo
Logo

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा


3.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूको सूची तयार गरेका छन् ।

अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल विस्तार गरे पहिलो चरणमा दुई जनाको मात्रै नाम दिने सोच उनले बनाएका छन् । दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन् । देउवाले एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने भए भने एकैपटक ६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो ।

पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो । स्रोतका अनुसार यादवले पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ । श्रेष्ठ यतिबेला संखुवासभामा छन् । उनी शनिबार मात्र काठमाडौं आउने कार्यक्रम छ ।

अध्यक्ष यादवले शनिबार जसपाको संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा सरकारमा कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल हुने सम्भावना रहेको सांसद अमृता अग्रहरीले बताइन् । ‘सरकारमा जाने विषयमा निर्णय गर्ने सबै अधिकार हामीले अध्यक्षज्यूलाई दिएका छौं,’ अग्रहरीले भनिन्, ‘तैपनि शनिबार बोलाइएको संसदीय दलको बैठकमा यसबारेमा छलफल हुने सम्भवना छ ।’

स्रोतका अनुसार यादवले सर्लाहीका दुई सांसद महेन्द्र यादव र प्रमोद साहको नाम सिफारिस गर्ने सम्भावना छ । साह सुरुमै कित्ता परिवर्तन गरी महन्थ ठाकुरबाट उपेन्द्र यादवतिर उभिएका हुन् । त्यसपछि ठाकुरनिकट अरू सांसदहरूले कित्ता परिवर्तन गरेका थिए । ‘साहले कित्ता परिवर्तन गरेपछि ठाकुर पक्षबाट यादवतिर जान बाटो खुला भएको हो,’ यादवनिकट एक कार्यकारिणी सदस्यले भने ।

साहको कित्ता परिवर्तनपछि ठाकुरनिकट प्रतिनिधिसभाका सात सांसदले कित्ता परिवर्तन गरेका थिए।

स्रोतका अनुसार अध्यक्ष यादवले पर्साका दुई सांसद रामसहाय यादव र प्रदीप यादवमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन् । रामसहाय र प्रदीप यादव अहिलेसम्म सरकारमा गएका छैनन् । रामसहाय पूर्वसमाजवादीका महासचिव पनि हुन् ।

लुम्बिनी प्रदेशबाट यादवले इस्तिायक राई र अमृता अग्रहरीमध्ये एकजनाको नाम सिफारिस गर्ने सोच बनाएका छन्। ‘लुम्बिनी प्रदेशबाट दुईमध्ये एक या दुवै समेटिने सम्भावना छ,’ स्रोतले भन्यो ।

अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्त्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन् । तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन् ।

यादव सरकारमा गएनन् भने सप्तरीकी सांसद रेणु यादवलाई सरकारमा पठाउने सम्भावना रहेको स्रोतले बतायो । स्रोतका अनुसार यसपटक यादवले महिलाका तर्फबाट रेणु यादव र अमृता अग्रहरीमध्ये एकजनालाई सरकारमा पठाउने सोच बनाएका छन् ।

केपी ओली नेतृत्व सरकारमा सहभागी भएका सांसदलाई यसपटक सरकारमा नपठाउने नीति बनाएको जसापाका अर्का एक कार्यकारिणी सदस्यले बताए । यो नीति कार्यान्वयन भए राजकिशोर यादव र रेणुका गुरुङ यसपटक सरकारमा जान पाउनेछैनन् ।

यो समाचार आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्